काठमाडौं– राजधानी उपत्यका घेरेको डाँडामा अर्को केबलकार बन्ने भएको छ । दक्षिणकाली नगरपालिकाको वडा नं १ मा पर्ने चाल्नाखेल, वोसनमा त्रिवेणी समूहले केबलकार निर्माण गर्न लागेको हो । उक्त केबलकार आगामी २०८१ भित्रै सञ्चालनमा आइसक्ने कम्पनीले जनाएको छ ।
त्रिवेणी समूहले चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिमार्फत केबलकार सञ्चालन निर्माण गर्न लागेको हो । उक्त कम्पनीमा त्रिवेणी ग्रुपका गोविन्दलाल संघई, चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल लगायतको लगानी छ । उनीहरु दुवै मुलुककै ठूलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक सेयरहोल्डर पनि हुन् ।
आइएमई समूहको अगुवाइमा स्थापित चन्द्रागिरि हिल्सले चन्द्रागिरिमा रिसोर्टसहित केबलकार सञ्चालन गरिरहेको छ । चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले पत्रकार सम्मेलन गरी केबलकार निर्माणको चरणमा प्रवेश गरेको जानकारी दिएको छ । कम्पनी सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार निर्माण सुरु गर्न आवश्यक प्राविधिक काम पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्माण कार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने छ ।
कम्पनीका अनुसार उसले केबलकार सञ्चालनका लागि चम्पादेवी माताको मन्दिर रहेको डाँडा वरपरको २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानुनी अवरोधको निकास सर्वोच्च अदालतबाट भइसकेकाले परियोजनाको कार्य तीव्र गतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । २०७६ वैशाख ०२ गते बसेको ७१औं नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ वैशाख ६ गते कम्पनीलाई केबलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त भएको थियो ।
कम्पनीले दक्षिणकाली नगरपालिकाबाट निर्माण तथा सञ्चालन अनुमतिपत्र प्राप्त गरेपछि आवश्यक पर्ने जग्गा खरिद गरिसकेको जनाएको छ । कम्पनीले सो क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्म बाटो, पार्किङ एरिया र रोपवे, चम्पादेवी मन्दिर क्षेत्र तथा माउन्टेन–१ र २ सर्भे सकिएको जनाएको छ ।
कम्पनीले त्यहाँ अस्ट्रियन कम्पनीबाट निर्मित केबलकार चलाउने छ । नेपालको पहिलो केबलकार मनकामनाको केबलकार पनि अस्ट्रियाकै हो । कम्पनीले चम्पादेवी मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गराएको जनाएको छ ।
कम्पनीले उक्त केबलकार प्रोजेक्ट निर्माण गर्न ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबलकार २०७९ को अन्त्यमा सुरु गरेर २०८१ सालको अन्त्यमा सक्ने जनाएको छ ।
कम्पनीले विदेशी लगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको छ । कम्पनीले बोसन गाउँदेखि बेस स्टेसनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तार गर्न सम्बन्धित निकायहरुलाई अभिलम्ब अनुरोध गरेको छ । स्थानीयवासीलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।









