काठमाडौं– पछिल्लो समय निकै पेचिलो बनेको विदेशी विनिमय सञ्चिति झन् ओरालो लागेको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चिति गत असारको तुलनामा फागुन मसान्तमा १६.३ प्रतिशतले तल ओर्लेको हो ।
गत असार मसान्तमा नेपालको कुल विदेशी विनियम सञ्चिति १३९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो । फागुनमा घटेर ११७१ अर्ब ७५ करोड कायम भएको छ ।
अमेरिकी डलर सञ्चिति असारको ११ अर्ब ७५ करोडबाट ९५८ करोड डलरमा ओर्लेको छ । गत असारको तुलनामा फागुन मसान्तको डलर सञ्चिति १८.५ प्रतिशतले कम हो । माघ मसान्तसम्ममा डलर सञ्चिति ९७५ करोड थियो ।
विदेशी मुद्रा खर्च गर्नुपर्ने आयात तीव्र गतिले बढ्ने तर त्यो आम्दानी गर्ने निर्यातको सानो आकार, रेमिट्यानस आप्रवाहमा कमी र पर्यटक आगमन लयमा आउन नसक्दा विदेशी विनिमय सञ्चिति तल ओर्लेको हो । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा ओरालो लाग्न नदिन कैयौं वस्तुको आयात निरुत्साहित गर्ने प्रयास गरे पनि त्यसको नतिजा देखिन बाँकी छ ।
विदेशी मुद्राको प्रमुखमध्येको एउटा स्रोत पर्यटक आगमनमा सुधार देखिएकोले अब भने सञ्चिति ओरालो लाग्ने गति घट्ने अपेक्षा गरिएको छ । गत मार्चमा सन् कोरोना महामारी सुरु हुनअघिको सोही महिना (२०१९ मार्च) को भन्दा पनि बढी विदेशी नेपाल आएका छन् ।
फागुन मसान्तसम्ममा मुलुकको शोधनान्तर घाटा २५८ अर्ब ६४ करोड रुपैयाँ पुगेको पनि राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । पोहोर फागुनमा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा थियो ।
सञ्चित विदेशी मुद्राले चालु आर्थिक वर्षको ८ महिनाकै अनुपातमा वस्तु तथा सेवा आयात गर्दा ६.७ महिनालाई पुग्ने राष्ट्र बैंकले जनाएको छ । गत फागुनमा रेमिट्यान्स आप्रवाह बढेर ९१ अर्ब पुगे पनि उच्च आयातका कारण विदेशी विनिमय सञ्चिति तल झरेको हो ।









