काठमाडौं– सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कूल निष्कासनमध्ये ५ प्रतिशत (१९ हजार ७६६ कित्ता) सेयर सामूहिक लगानी कोष र जारी पूँजीको ०.५ प्रतिशत (६ हजार ८२ कित्ता) कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । साथै निष्कासन गरिएको सेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो सेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय