काठमाडौं– बिरयानी पारखीलाई लक्ष्य गर्दै एनडिएच मसलाले विभिन्न स्वाद र परिकारका बिरयानी मसला नेपाली बजारमा पहिलोपटक ल्याएको छ ।
श्री बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडिएच ब्रान्डका विभिन्न पाँच प्रकारका बिरयानी मसला पहिलोपटक नेपाली ब्रान्डका रुपमा बजारमा आएको दाबी गरिएको छ ।
एनडिएच ब्रान्डमा बिरयानी मसला, शाही बिरयानी मसला, बिरयानी मसला पुलाव, चिकेन बिरयानी मसला र मटन बिरयानी मसला बजारमा आएको छ ।
पछिल्लो समय नेपालमा पनि बिरयानीका पारखीहरु बढेको सन्दर्भमा आयातीत महँगा तर गुणस्तरहीन मसलालाई प्रतिस्थापन गर्न नेपाली अर्गानिक मसला उत्पादन गर्दै आएको कम्पनीले एनडिएच ब्रान्डमा बिरयानी मसला पनि उत्पादन र बजारीकरण सुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक कमल सिंहले जानकारी दिए ।
झण्डै ९५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुँदै आएका एनडिएच ब्रान्डका मसला नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, अमेरिकाको एफडिए, भारतको जिएसवान, आइएसओ, एचएसिसिपी, हलाललगायतबाट गुणस्तर प्रमाणित भएको कम्पनीले जनाएको छ ।
नेपालका साथै अमेरिका, जापान, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, दुबई, कतारलगायत मुलुकमा एनडिएचका मसला निर्यात भइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । बढी बजार हिस्सा भएको अमेरिकाको आठवटा राज्यमा यो मसला उपलब्ध रहेको सिंहले बताए ।
बिरयानीको वास्तविक स्वाद नेपालका अधिकांश रेस्टुरेन्ट र होटलमा नपाउने र उपयुक्त मसलाको पनि अभाव भएको गुनासो आउन थालेपछि कम्पनीले बिरयानीको फरक फरक पाँच परिकारका लागि मसला उत्पादन सुरु गरेको जनाएको छ ।
आफ्नै घरमा बिरयानी बनाएर खान चाहने ग्राहकको रहर बिरयानी मसलाले पूरा गर्ने कम्पनीको अपेक्षा छ । शतप्रतिशत अर्गानिक र जडीबुटीजन्य उत्पादन भएकाले स्वदेशका साथै विदेशमा पनि मन पराइएको उनले दाबी गरे ।
दक्षिण भारतीय एवं मध्यपूर्वमा विकास भएको खाद्य परिकार बिरयानी अहिले काठमाडौंलगायत नेपालका विभिन्न सहरी भेगमा उपलब्ध हुन थालेको छ । विश्वका विभिन्न ठाउँमा उत्पत्ति भएको बिरयानीको आफ्नै महत्त्व छ । दक्षिण भारतमा हैदराबादी बिरयानी, इराकी बिरयानी, दक्षिण भारतीय चिकेन बिरयानीलगायत नामबाट विकास भएको छ । यसबाहेक पनि चिकेन दम बिरयानी, इरानी बिरयान र बर्मेली बिरयानी मुख्यतया विश्वमा विभिन्न ठाउँमा विकास भएका बिरयानीका परिकार हुन् ।
कम्पनीले ५० ग्राम तौलको बिरयानी मसलाको मूल्य ५५ रुपैयाँ राखेको छ । काठमाडौंको बूढानीलकण्ठमा रहेको उद्योगबाट उत्पादित एनडिएच ब्रान्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण भइरहेको छ । कम्पनीले अहिले ५५ थरी मसला बजारमा उपलब्ध गराइरहेको छ । करिब एक सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीले शुद्घ नेपाली ब्रान्डमा २०७३ सालदेखि निरन्तर मसला उत्पादन गर्दै आएको छ ।









