काठमाडौं– नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनको विरोध गरेको छ ।
संघले गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत देशभरका कार्यालयहरुमा आइतबार कालो ब्यानर टाँगेको छ । केन्द्रीय कार्यालयमा भने कोणसभासमेत गरेको संघले जनाएको छ ।
ब्यानरमा केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि सुरु गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर लगायत नारा लेखिएको छ ।









