काठमाडौं– ललितपुर औद्योगिक क्षेत्रको एउटा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको ज्यान गएको छ । सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको हो । उक्त घटनामा अरु सात जना घाइते भएका छन् ।

एकजना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले घटनास्थल हेर्दा निकै शक्तिशाली विस्फोट भएको जस्तो देखिने बताएका छन् ।

मृतकको शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको उनले जानकारी दिए । ‘उद्योगको छाना सबै उडेको छ,’ उनले भने, ‘निकै शक्तिशाली विस्फोट भएको देखिन्छ ।’ टाढा–टाढाका घरका सिसा पनि फुटेको प्रत्यक्षदर्शीले जानकारी दिएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्धार गरेर अस्पतालमा पठाएको छ । उद्योग सञ्चालकका अनुसार विस्फोट हुँदा त्यहाँ १० जना कार्यरत थिए । गम्भीर घाइते एकजनाको खुट्टा चुँडिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको बीएन्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

त्यहाँ थुप्रै सिलिन्डर विस्फोट भएको प्रहरीको अनुमान छ । यसैबीच घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँडले आदेश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय