काठमाडौं– नेपालको कुल कृषियोग्य भूमिको ७ प्रतिशत बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुई हजार नेपाली रोजगारीको खोजीमा विदेश उड्छन् । कृषिप्रधान देश भनिन्छ, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक विभाग बताउँछ ।

विप्रेषणको पैसामा उपभोग्य सामग्री किनेर पैसा जताबाट आउँछ उतै पठाउने प्रवृत्ति झन् व्यापक बन्दै गएको भन्सार विभागको ताजा तथ्यांकले देखाउँछ । भन्सारको तथ्यांकअनुसार नेपालमा अत्यधिक मात्रामा खाद्यान्न आयात भइरहेको छ ।

धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली नै चालु आर्थिक वर्षको ९ महिनामा ५९ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । विभागका अनुसार गत साउनदेखि चैतसम्ममा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको खाद्यान्न आयात भएको छ ।

एकातिर यहाँको जमिन बाँझो रहने अर्कोतिर जुनेलोसमेत आयात हुने अनौठो अवस्था देखिएको छ । सरकारले कृषि उपजको उत्पादन बढाउन अनेक नीति तथा कार्यक्रम बनाएको छ । तर, ती कार्यक्रम लक्षित वर्गसम्म पुग्दै पुग्दैनन् । अनुदान भए टाठाबाठाले झ्वाम पार्छन् । गत वर्ष सरकारले केही कृषि उपजमा आत्मनिर्भर भएको घोषणा पनि गरेको तर भन्सार विभागको तथ्यांकले सो दाबीलाई समेत गलत साबित गरिदिएको छ ।

विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार रुपैयाँको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड ४ लाख राजस्व संकलन गरेको छ ।

धानको बीउ २४ करोड ८३ लाख ६९ हजार बराबरको १६ लाख ९९ हहजार ७८९ केजी आयात भएको छ । यस अवधिमा १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रुपैयाँको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमीपोलिस चामल आयात भएको छ ।

पोलिस नगरिएको चामल ४ अर्ब ४९ करोड ६३ लाख ९५ हजारको ६ करोड ३ लाख ५८ हजार ४५३ केजी आयात भएको छ ।

१५ अर्बको मकै आयात
हाम्रै पाखा पखेरामा फल्ने मकै झन्डै १४ अर्बको आयात भएको छ । ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । उक्त मकैं आयात गर्न १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँ बाहिरिएको छ ।

सोही अवधिमा १ करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत १ अर्ब ५ करोड ६६ लाख ६० हजार छ । मकै आयातबाट सरकारले ७९ करोड ४४ लाख ३८ हजार राजस्व संकलन गरेको छ ।

२ करोडको कोदो
यो ९ महिनामा २ करोड ७१ लाख २० हजार बराबरको आयात गरेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । चालू आवको चैत मसान्तसम्म ८ लाख ५ हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।

५ अर्बको गहुँ
विभागका अनुसार गहुँको आयात पनि उस्तै छ । ९ महिनामा ५ अर्ब २७ करोड ७९ लाख ७३ हजार बराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । बीउका रुपमा ७ लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको मूल्य २९ लाख ९६ हजार रुपैयाँ छ ।

जुनेलोसमेत नेपालीले किनेर खान थालेको भन्सार विभागको तथ्यांकले देखाउँछ । ९ महिनामा ६५२ केजी जुनेलो आयात भएको छ । त्यसको मूल्य ३५ हजार छ ।

त्यतिमात्रै होइन मकैको स्वाद भएका खाद्य उपजको समेत आयात भएको देखिन्छ । त्यस अवधिमा दुई करोड २९ लाख ३८ हजार बराबरको ५ लाख ६० हजार ३६५ केजी त्यस्तो खाद्य पदार्थ आयात भएको छ । यो विवरणका आधारमा नेपाल क्रमशः परनिर्भर बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय