काठमाडौं– राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बिजक तयार पारी १८ करोडभन्दा बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ ।

विभागले काठमाडौं महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेसनलका प्रोप्राइटर तथा गणपति ट्रेड लिंक, एचबी ट्रेड एन्ड सप्लायर्स र एमके इन्टरनेसनल समेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिंकका खाता सञ्चालक र एमके इन्टरनेसनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै, एमके इन्टरनेसनलका प्रोप्राइटर प्रमित महर्जन, एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिंकका प्रोप्राइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

शुभलक्ष्मी इन्टरनेशनल समेतका कम्पनीले राजस्व चुहावट गर्ने मनसाय स्वरुप नक्कली तथा अभिवृद्धि करको नक्कली बिजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको विभागको भनाइ छ । उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दाबी गरेको छ ।

अनुसन्धान गर्दा १८ करोड ५ लाख ६८ हजार बिगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले बिगो असुल गरी शतप्रतिशत जरिवाना तथा कैद सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय