काठमाडौं– जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश’ भनिन्छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्यांक समयसमयमा सार्वजनिक हुन्छ । आर्थिक सर्वेक्षण २०७७–०७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जिडिपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्यांक विभागको बिवरणले देखाएको छ ।

विभागका अनुसार नौ महिनाको अवधिमा प्रमुख फलफूल मात्रै ११ अर्ब ७० करोड ८९ लाख २६ हजार बराबरको आयात भएको देखिन्छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्रको सही र ब्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बांै रकम विदेशिनबाट जोगिन सक्ने देखिन्छ ।

निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि बिदेसिएको छ । पहाडका अधिकांश जग्गा बाँझो छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये ७ प्रतिशत बाँझो छ । झन्डै ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । त्यस्तै १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ ।

यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ । दैनिक दुई हजारको संख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । अनौपचारिक तथ्यांक अनुसार झन्डै ४० लाख युवा विदेशमा छन् ।

विप्रेषणबाट आयात भएको ठूलो धनराशि उपभोग्य वस्तुमा खर्च हुँदा त्यसले औद्योगिक वातावरणसमेत बनाउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषणबाट आएको रकमको झन्डै ७५ प्रतिशत हिस्सा उपभोग्य वस्तु खरीदमा खर्च भएको छ । विप्रेषणलाई आर्थिक समृद्धिमा नलगाउँदासम्म त्यसले दीर्घकालीन र रणनीतिक प्रभाव पार्न नसक्ने विभिन्न अध्ययनले देखाएको छ ।

भन्सार विभागले चालू आवको पहिलो नौ महिनाको आयात र निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरण अनुसार मुलुकले उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्याधिक आयात भइरहेका छन् । धान, मकै, कोदो जस्ता प्रमुख खाद्यबालीका साथै फलफूल आयातमा अर्बौं मुद्रा मुलुकबाहिर गएको देखिन्छ ।

चालु आवको पहिलो नौ महिनाका अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पाँच अर्ब ५६ करोडको स्याउ
विभागका अनुसार चालु आवको चैत मसान्तसम्म ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ५३ करोड २३ लाख ३७ हजार बराबर राजस्व संकलन गरेको छ ।

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको देखिन्छ । चीनबाट मात्र ४ अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ ।

एक अर्ब बढीको अंगुर
चालु आवको चैत मसान्तसम्म १ अर्ब ६४ करोड ६५ लाख २४ हजारका २ करोड ४० लाख ८ हजार ९५७ केजी ताजा अंगुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ८ करोड ३४ लाख ६२ हजारर राजस्व संकलन गरेको छ ।

केरा किन्दा १ अर्ब ३१ करोड बाहिरियो
नेपालीले ९ महिनामा १ अर्ब ३१ करोड १८ लाख १ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको चैत मसान्तसम्म ४ करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले १३ करोड ६९ लाख ८० हजार राजस्व संकलन गरेको छ ।

विभागको विवरण अनुसार सुन्तलाको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै १ अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको २ करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ ।

त्यस्तै चैत मसान्तसम्म ९७ लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि १ अर्ब १ करोड ८४ लाख ७६ हजार रकम बाहिरिको छ ।
खरबुजा १ करोड ३ लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ । सो खरबुजाको आयात मूल्य २७ करोड ४३ लाख १४ हजार बराबर छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य १६ करोड ५२ लाख २६ हजार बराबर छ ।

१९ लाख ६६ हजार १९ केजी नास्पाती १३ करोड ५० लाख ६७ हजारमा आयात भएको छ । भुँइकटहर २३ लाख ६४ हजार ६६६ किलो १० करोड ६० लाख ९१ हजारमा आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय