काठमाडौं– संसारकै सबैभन्दा स्वादिष्ट र महँगो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो ।

भन्सार विभागले सार्वजनिक गरेको आयातसम्बन्धी तथ्यांक अनुसार गत साउनदेखि चैतसम्ममा २ हजार ७१८ किलो सालमन माछा नेपालमा आयात भएको छ ।

त्यस्तै, सो माछाको अन्य प्रकारसमेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । ती माछाको आयात मूल्य १ करोड ९१ लाख ५४ हजार बराबर छ । उक्त माछाको आयातबाट सरकारले ५९ लाख १३ हजार बराबरको राजस्व प्राप्त गरेको छ ।

त्यस्तै, नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो गँगटा । चालु आवको नौ महिनामा १८ सय किलो गँगटा नेपाल भित्रिएको छ । गाउँघरका खेतबारीमा पाइने र नेपालीको खास पहिचानसमेत नगरेको गँगटालाई डरलाग्दो प्राणीका रुपमा लिइन्छ । उक्त जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार बराबर छ । गँगटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार ९ महिनामा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य १ लाख २९ हजार बराबर छ ।

सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार २ लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले २ करोड ९५ लाख दुई हजार बराबर राजस्व संकलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य ९ करोड ६६ लाख ८१ हजार बराबर छ ।

नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिससमेत देखिएको छ । नौ महिनाको अवधिमा ३ लाख ४८ हजार ७५० किलो क्याटफिस आयात भएको छ । क्याटफिस आयात गर्दा ८ करोड ३९ लाख बाहिरिएको छ ।

माछाको मासु मात्रै पनि आयात भएको छ । नौ महिनामा ८ हजार किलो माछाको मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रुपैयाँ छ । टुनाफिस ९१० किलो आयात गर्न २१ लाख ९९ हजार बराबर बाहिरिएको छ ।

विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य ३ करोड ४८ लाख ६१ हजार छ । झिँगेमाछा ३ हजार २०० किलो आयात भएको छ । त्यसबापत १ करोड ३७ लाख रुपैयाँ बाहिरिएको छ ।

अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ ।

महीसमेत किनेर खाए
अरु त अरु नेपालीले मही समेत विदेशबाट ल्याएर पिउने गरेका छन् । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा २ लाख १४ हजार लिटर मही आयात भएको छ । यसले मुलुक हरेक वस्तुमा परनिर्भर भइसकेको संकेत गर्छ ।

विभागका अनुसार मही आयात गर्दा ३ करोड ६४ लाख ७२ हजार रुपैयाँ बिदेसिएको छ । बटर मिल्क ११ हजार ८७५ लिटर आयात भएको छ । गोङ हर्ट १६ हजार २०९ लिटर आयात भएको छ ।

स्वादजन्य दूध र क्रिम मात्रै २ हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ ।

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध ३ लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) २ हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार सो अवधिमा १ अर्ब सात करोड १९ लाख ३० हजार बराबरको दूध तथा दुग्धजन्य पदार्थ आयात भएको देखिन्छ ।

सरकारले विभिन्न जोन बनाएर कृषि उपज उत्पादन बढाउने र चौपाया पालनलाई प्रेरित गर्ने भने पनि त्यसले कुनै नतिजा दिन नसकेको कृषि र पशुजन्य वस्तु आयातले प्रस्ट पार्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय