काठमाडौं– सरकारले विभिन्न १० थरी सामान आयातमा असारसम्मका लागि पूर्ण प्रतिबन्ध लगाएको छ । सरकारको यो कदमले विदेशी विनिमय सञ्चितिमा थप चाप परेको संकेत गर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबारको राजपत्रमा सूचना प्रकाशित गरी महँगा मोबाइल सेटसहित १० थरी सामान आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको हो ।
सरकारले निकासी पैठारी नियन्त्रण ऐन २०१३ ले दिएको अधिकार प्रयोग गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । विदेशी मदिरा आयातमा पनि प्रतिबन्ध लगाएको छ । अब कुनै पनि प्रकारका विदेशी मदिरा असारसम्म आयात गर्न पाइने छैन । चुरोट तथा सुर्तीजन्य पदार्थको आयातमा पनि रोक लगाइएको छ ।
औद्योगिक कच्चा पदार्थबाहेकको हिरा, ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजनको आयातमा पनि रोक लगाइएको छ ।
सवारी साधनको हकमा एम्बुलेन्स र शवबाहन बाहेक कुनै पनि प्रकारको जिप, कार र भ्यानको आयात गर्न पाइने छैन । २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबैप्रकारका खेलौना र खेल्ने तास आयातमा पनि प्रतिबन्ध लगाएको छ ।










