काठमाडौं– इन्टरनेट सेवा प्रदायक संघ (आइएसपी संघ) ले सरकारी निकायले निजी क्षेत्रको अस्तित्व र लगानीलाई सिध्याउन खोजेको भन्दै इन्टरनेट सेवा नै बन्द हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायक संघ, नेपालले एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

संघले निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पनि वहिष्कार गर्ने जानकारी दिएको छ । वैशाख १४ गते बसेको संघको कार्यकारी समिति बैठकले उक्त दिवस वहिष्कार गर्ने निर्णय गरेको हो ।

‘हामीले यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौं,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘अतः हामी यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोग बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौं ।’

हालसम्मका कुनै पनि सरकारले सूचना र सञ्चार प्रविधिको लागि आवश्यक वातावरण बनाउने र इन्टरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा, कार्यक्रमको नाममा देखावटी काम मात्रै गरेको आरोप संघले लगाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुका अपस्ट्रिम प्रोभाइटर टाटा, एयरटेल, सिफ्फी जस्ता कम्पनीलाई भुक्तानी गर्ने विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रुपमा बन्द गरेको, सोही किसिमको बेरुजु रहेको बहानामा टिभी सेवा प्रदायकहरुलाई पनि विदेशी मुद्रा सिफारिस नगरेको, विद्युतीय पोल प्रयोग तथा सोको भुक्तानी एवं उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिले बुझाएको प्रतिवेदनको कुनै पनि बुँदाको कार्यान्वयन नहुँदा नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तार काट्ने, सेवा प्रदायकका संयन्त्रहरुलाई प्रभावित पार्ने, आफूखुसी भाडादर कायम गर्ने जस्ता काम गरेकोले दिवस वहिष्कार गर्ने निर्णय गरेको संघले जनाएको छ ।

त्यसैगरी, इन्टरनेटमा लाग्ने करहरु ४५ भन्दा बढी रहेको र त्यसलाई घटाएर इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्था गरेकोले यस्तो निर्णय लिएको संघको भनाइ छ ।

६ महिनादेखि नै इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको भन्दै संघले इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय