काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समयको लोडसेडिङले उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै त्यसको समाधान गर्न आग्रह गरेको छ ।

बिनासूचना १२ देखि १६ घण्टासम्म लोडसेडिङ गर्दा मुलुकका प्रमुख औद्योगिक करिडोरका सयौं उद्योगहरू थला पर्ने अवस्थामा पुुगेको महासंघले जनाएको छ । ‘यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगबाट महासंघमा अनुरोध पत्र आएका छन् ।’

लामो समय विद्युत कटौती, ट्रिपिङ, लो भोल्टेज लगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएको भन्दै महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटकपटक गरेको प्रतिबद्धता पनि महासंघले सम्झाएको छ ।

प्राधिकरणले एकातिर विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतिर बिनासूचना घण्टौं विद्युत् आपूर्ति अवरुद्ध पारेको भन्दै महासंघले असन्तुष्टि पनि जनाएको छ ।
उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङले निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघको भनाइ छ ।

विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यातनै प्रभावित हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्युत् ऊर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो सम्भव नहुने बताइएको छ । त्यसरी उत्पादन गरेका वस्तुु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने महासंघको भनाइ छ ।

महासंघले वर्तमान समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न आग्रह गरेको छ । त्यस्तै उद्योगहरूमा विद्यतु कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्वाध दिन आग्रह गरेको छ ।

यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुुपर्ने, विद्युत खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युतको गुणस्तरमा ध्यान दिन पनि आग्रह गरेको छ ।

चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लोपटक भोग्नुुपरेको उर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय