काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघको रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभ–कामना व्यक्त गरेका छन् ।
अध्यक्ष गोल्छाले शुभ–कामना सन्देशमा कोरोना महामारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका घटनाक्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा असर पर्न सक्ने बताएका छन् ।
सन्देशमा उनले रोजगारदाता र ट्रेड युनियनबीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रमसम्बन्धी समस्याको समाधान पर्ने मान्यताका साथ काम गर्दै आएको उल्लेख गरेका छन् । असल औद्योगिक सम्बन्धको विकास गर्दै वर्तमान र भावी परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले सबैलाई उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
त्यसैगरी, महासंघ अन्तर्गतको रोजगारदाता परिषद्का सभापति संघईले कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गम्भीर रूपमा प्रभावित भएको भन्दै यसबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
अहिले कम भए पनि कोरोनाको नयाँनयाँ प्रकार फैलिने क्रम नरोकिएकाले पूर्णरूपमा जोखिममुक्त अवस्था नभएकोले स्वस्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्ने उनले बताएका छन् ।
आर्थिक गतिविधिले गति लिन थालेको बेला मुलुक आर्थिक संकटतर्फ उन्मुख हुन लागेको हो कि भन्ने चिन्ता बढेको भन्दै सभापति संघईले यस्तो स्थितिमा उद्योग व्यवसायको सञ्चालन र रोजगारी प्रभावित हुने हुँदा आउने चुनौतीको सामना गर्न श्रमिक र रोजगारदाताबीच थप समझदारी र सहकार्यका लागि आग्रह गरेका छन् ।









