काठमाडौं– बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा कन्फेरेन्स अन उसेरिङ प्याराडाइम सिफ्ट इन द इन्स्योरेन्स इन्डस्ट्री इन नेक्स्ट डिकेट– रेसिलिएन्स टू चेन्ज विषयक एकदिने सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न गरेको छ ।
सम्मेलनमा बिमा व्यवसायीहरु, बैंकरहरु, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका करिब १२० पेसाकर्मीको सहभागिता रहेको बिफिनले जनाएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रमका विशिष्ट अथिति प्रोफेसर डा. हरिवंश चतुर्वेदी (बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी)ले गरेका थिए ।
सम्मेलनमा कोरोना महामारीको असरपछि परिवर्तित बिमा व्यावसायिक वातावरणको साथै बिमा क्षेत्रमा देखिएका कैयौं नयाँ आयाम जस्तै उपभोक्तका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाहरु, बिमाप्रविधिको विकास, साइबर सुरक्षा, जलवायु परिवर्तन, तीव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता लगायत विषयमा नेपाल, भारत र बंगलादेशबाट उपस्थित सहभागीबीच छलफल भएको बिफिनले जनाएको छ ।
कार्यक्रमका बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्ता कार्यक्रम आयोजनाबाट नेपालको बिमा व्यवसायले भारत र बंगलादेशको अनुभवबाट आगामी दिनमा तय गर्नुपर्ने बाटो निर्धारण गर्न सहयोग पुग्ने तथा बिमा व्यवसायको क्षेत्रलाई थप परिष्कृत गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसका साथै मस्यौदा भइसकेको राष्ट्रिय बिमा नीति पारित भई कार्यान्वयनमा आउन सकेमा बिमा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सिलवालले बिमाले वित्तीय सुरक्षाको माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्याउन सकिने भन्दै आगामी बजेटमा बिमा क्षेत्रको विकासको लागि धेरैभन्दा धेरै नीतिहरु आउने अपेक्षा गरे ।









