काठमाडौं– एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत् आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत् आयोजना हो ।
एनएमबि अगुवाइको सहवित्तीयकरणमा सहभागी अर्को बैंक सेञ्चुरी कमर्सियल हो । २१.९३ मेगावाट क्षमताको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख छ । जसमध्ये बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको इन्भायरोन्मेटल एन्ड सोसियल मिटिगेसन गाइडलाइन्स अनुसार एनएमबिले इन्भायरोन्मेटल एन्ड सोसियल पोलिसी तयार पारी सोहीबमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको जनाएको छ ।
बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीअन्तर्गत प्रचलित अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्घता जाहेर गरेको छ ।









