काठमाडौं– अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्र रुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्दछ ।

इनड्राइभरको रियल टाइम डिल्स (आरटिडी)मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेस्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरुभन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ ।
यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको इटिए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।

चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै नेपालका मुख्य शहरहरुमा उपलब्ध गराउनेछौं । कम्तीमा सेवा सञ्चालनको शुरुआती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन, यसको मतलब उनीहरुले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन् । त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ । इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको छ,’ इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन् ।

राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविस्ट गर्नुपर्नेछ ।

सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेसन प्राप्त गर्ने र त्यसपछि अर्डर स्वीकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।

इनड्राइभरको आरटिडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रा गर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथसम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभर एउटा ग्लोबल आइटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटा सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो । यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।

इनड्राइभरले अन्तरसहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा डेलिभरी लगायतका अन्य सेवा पनि प्रदान गर्दछ ।

इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले १ हजार ७०० जनालाई रोजगारी दिएको छ ।

२०२१ को सुरुआतमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बन्ड क्यापिटलको १५ करोड डलर लगानी सहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय