काठमाडौं– चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ ।
चालु आवमा १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट १ हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएकोमा लक्ष्यअनुसार प्रगति हुन नसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको ६१.५, रसुवागढी आयोजनाको ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको ८६ प्रतिशत र मध्यभोटेकोसीको ८० प्रतिशत बराबर भौतिक प्रगति छ ।
सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ । चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ । त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकलाई बिजुली दिइएको छ ।









