काठमाडौं– बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । कम्पनीले जेठ २० गतेदेखि निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयमा शुक्रबार बाँडफाँट भएको हो ।
कम्पनीको सेयर १ लाख ३६ हजार ५०० जनाले १०–१० कित्ताका दरले पाएका छन् । यो सेयरका लागि १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार ७३८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । १७ लाख ८९ हजार १५७ योग्य आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन ल्याएको थियो । सोको ४ प्रतिशत (६० हजार कित्ता) कर्मचारीका लागि सुरक्षित राखी र ५ प्रतिशत (७५ हजार कित्ता) सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ ।
बाँकी १३ लाख ६५ हजार कित्ताका सेयर सर्वसाधारण आवेदकहरुमा बाँडफाँट भएको हो ।









