काठमाडौं– सरकारले बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी स्थापना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वदेशी लगानीमा कम्पनी मोडलमा जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको हो ।
यसका लागि कम्पनी खोल्न अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बूढीगण्डकी निर्माणका लागि कम्पनी खाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिइन् ।
ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी, स्थानीय र सर्वसाधारणको लगानीमा आयोजना निर्माण गर्ने निर्णय भएको हो ।
६० अर्ब रुपैयाँ अधिकृत पुँजी रहने कम्पनीको तत्काल जारी पुँजी २० अर्ब रुपैयाँ हुनेछ, जसमा संस्थापकहरुले १० अर्ब रुपैयाँ हाल्नेछन् ।
आयोजना निर्माणका लागि बन्ने कम्पनीमा ऊर्जा मन्त्रालयको सबैभन्दा धेरै (४० प्रतिशतले हुने २४ अर्ब रुपैयाँ लगानी रहनेछ । त्यसैगरी अर्थ मन्त्रालयले २५ प्रतिशत (१५ अर्ब रुपैयाँ), नेपाल विद्युत् प्राधिकरणको १४ प्रतिशत (८ अर्ब ४० करोड), विद्युत् उत्पादन कम्पनीले १ प्रतिशत (६० करोड), स्थानीयको १० प्रतिशत (६ अर्ब) र सर्वसाधारणको १० प्रतिशत (६ अर्ब रुपैयाँ) लगानी रहनेछ ।
गएको चैत २४ को मन्त्रिपरिषद्ले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबासँग खोस्ने निर्णय गरेको थियो । आयोजना बनाउन २०७५ मा चिनियाँ कम्पनी गेजुबालाई दिने निर्णय गरेकोमा ४ वर्षसम्म काम अघि नबढेपछि सरकार आफैंले निर्माण गर्ने भन्दै गेजुबाबाट खोसेको थियो ।









