काठमाडौं– अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।
कम्पनीले कुल निष्कासनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेकोे छ ।
सार्वजनिक आह्वान पत्र अनुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ ।
हाल आइपिओमा आवेदन दिनेको संख्या उल्लेख्य बढेकाले निष्कासन बन्द छिटो नै हुने देखिन्छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत तथा मेरो सेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।









