मन्थली– रामेछापमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो । उक्त दुर्घटनाका थप तीन घाइतेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताए ।
उक्त दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको थियो । बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका २४ घाइतेलाई धुलिखेल अस्पताल लगिएको थियो । चारजनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । उक्त दुर्घटनामा ६ वटा खसी–बोका समेत प्राप्त समाचारमा उल्लेख छ ।
प्रहरीले बस चालक दोलखाका प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएको छ । चालकले ब्रेक फेल भएर दुर्घटना भएको बयान दिएका छन् । मृतकमध्ये आठजनाको सनाखत भइसकेको प्रहरीको भनाइ छ ।









