काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाले ४.२ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले मर्जर तथा प्राप्ति प्रक्रियाका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई प्रदान दिने निर्णय समेत गरेको छ ।
सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुईजना सञ्चालक निर्विरोध चयन गरेको छ । सर्वसाधारण समूहबाट केशवराज केसी र शिवहरि घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६–७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ ।
साथै आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।









