बेसीसहर– गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ । बेसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
सो खण्डको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।
सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाडौं, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
पहिरोले बेसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । गए रातिको वर्षाले बेसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खस्दा उक्त स्थानमा सवारी सञ्चालन हुन सकेको छैन । उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
यो लमजुङ–मनाङ जोड्ने एकमात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।









