काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जनरमण शर्माले सो सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यी कम्पनी बराबरी हैसियत (१ः१ को स्वाप अनुपात)मा गाभिन लागेका हुन् । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।
मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेशकुमार भट्टराई रहने सम्झौता छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।









