काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १४ गतेदेखि १० वस्तुको आयातमा लगाएको प्रतिबन्धको अवधि थप गरेको छ ।

असार मसान्तसम्मका लागि लगाइएको प्रतिबन्धको म्याद सकिएपछि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी म्याद थपेको हो । अब आगामी भदौ १४ गतेसम्म ती वस्तु आयात गर्न पाइने छैन ।

यसअघि २५० सिसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाएको सरकारले अहिले सिसी क्षमता घटाएर १५० सिसी कायम गरेको छ । अब १५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल भदौ १४ गतेसम्म आयात हुने छैनन् । बाँकी वस्तुमा कुरकुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात छन् ।

यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय