म्याग्दी– जिल्लामा गत आर्थिक वर्ष २०७८–७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पँुजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको १ अर्ब २१ करोड ५९ लाख विनियोजन भएकामा ८६ करोड ६१ लाख रुपैयाँ खर्च भएको उक्त कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिएका छन् ।
विकास योजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन हुने गर्छ । जिल्लामा प्रदेशका १० र संघीय सरकारका ३० कार्यालय छन् । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४.४५ प्रतिशत अथवा ३८ करोड ५० लाख असार महिनामा खर्च भएको छ । संघीयतर्फ पुँजीगत शीर्षकमा ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा १३ करोड ४० लाख सहित कुल २४ करोड ५५ लाख खर्च भएको छ ।
प्रदेशका कार्यालयमा ८१ करोड १७ लाख विनियोजन भएकामा ६२ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । खर्च भएकामध्ये २५ करोड १० लाख असार महिनाको हो । संघीय सरकारको चालुतर्फ ३ अर्ब ४८ करोड ५६ लाख बजेट विनियोजन भएकामा ३ अर्ब ३० करोड १८ लाख (९४.७२ प्रतिशत) खर्च भएको छ ।
५१ करोड १३ लाख संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदानसमेत समेटिएको छ । प्रदेशको चालु शीर्षकमा ४८ करोड ५३ लाख विनियोजन भएकामा ३६ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा १३ करोड ३५ लाख खर्च भएको छ ।
संघीय र प्रदेशको चालु शीर्षकमा स्थानीय तहलाई दिएको अनुदानको निकासा रकमसमेत जोडिएको छ । स्थानीय तहले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने बताइएको छ । संघीय र प्रदेशको चालु तथा पुँजीगत गरेर गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड ६८ लाख विनियोजन भएकामा ८७.४४ प्रतिशत (४ अर्ब ५२ करोड ५८ लाख) खर्च भएको छ ।
पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन । यसैगरी गत आर्थिक वर्षमा जिल्लाका संघीय कार्यालयबाट १५ करोड २१ लाख र प्रदेशका कार्यालयबाट २ करोड ९६ लाख राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको छ ।









