काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयक अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा मंगलबार भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ वटा विधेयक अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुख सापकोटासँग विचाराधीन अवस्थामा रहेका धेरै विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुन नसकेको बताएका थिए ।

धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक अर्थसमितिमा छलफलका क्रममा छ । यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशेधन गर्नेसम्बन्धी ऐन पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्बन्धित सबै विधेयकहरुलाई संघीय निर्वाचनअघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु ।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाखेती गर्ने वातावरण बनाउनसमेत सभामुखलाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवर्द्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए । संघीय निर्वाचनअघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयक पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसँगको भेटमा सभामुख सापकोटाले रोकिएका विधेयक अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, । बजेटसँग सम्बन्धित विद्येयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरुसँग जानकारी लिनेसमेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाउन आफूले पहल गर्ने सभामुख सापकोटाको भनाइ छ । सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चार वर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय