काठमाडौं– श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सार्वजनिक आह्वान पत्र अनुसार निष्कासित सेयरमध्ये पाँच प्रतिशत (१ लाख १९ हजार ४७५ कित्ता) सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणलाई बिक्री खुला गरिएको सेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुंगाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी (बीबी) आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।









