काठमाडौं– एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५३ करोड खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो । योसँगे बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत कायम भएको छ । यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा कायम भएको छ । यो पनि २६ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रहेको अनुमान एनआइसी एसियाको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरी निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा झारेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर १ पुँजी पर्याप्तता अनुपात ८.९३ प्रतिशत पुर्याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गरेको बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाता थप गर्दै ४० लाखभन्दा बढी खातामार्फत ग्राहकलाई सेवा दिइरहेको छ । बैंकको कुल कर्जा लगानी अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार भएको विज्ञप्तिमा उल्लेख छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकभन्दा अग्रणी स्थानमा रहेको अनुमान बैंकले गरेको छ ।
एनआइसी एसियाले २५ वर्षअघि साउन ५ गतेदेखि कारोबार सुरु गरेको थियो ।









