काठमाडौं– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
उनका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताइएको छ ।
विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । ती क्षेत्रका नदीनाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै विभागले सतर्क रहन सुझाएको छ ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।









