काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षाको मिति तय गरिएको छ ।
कार्यालयले आगामी ११ र १२ गते पूरक (ग्रेडवृद्धि) परीक्षाको मिति तय गरेको हो । बोर्डका अनुसार ग्रेडवृद्धिको परीक्षा दिन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म आवेदन दिनुपर्नेछ । ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पूरक परीक्षा दिन पाइन्छ ।
परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले ५०० रुपैयाँ तिरेर सम्बन्धित विद्यालयमा फाराम भर्नुपर्छ । बढीमा दुई विषयमा मात्रै पूरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउँछन् ।
पहिलो दिन अनिवार्य अंग्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनेहरूको परीक्षा हुने कार्यालयले जानकारी दिएको छ । दुई विषयको परीक्षा दिनेले सानो कोड भएको विषयको परीक्षा ११ गते र ठूलो कोड भएको विषयको परीक्षा १२ गते दिनुपर्नेछ ।
परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ । भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ ।









