काठमाडौं– नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले सहकारीको लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा उक्त सेवा सुरु गरेको बताइएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कार्ड सेवा सुरु गरेको तीनवटा संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङमार्फत आफनो सेवा दिँदै आएकोे छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थालाई मात्र सुविधा दिएको बढ्दै गएको सहकारीको भूमिका र कारोबारलाई ध्यानमा राख्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएकोे विज्ञप्तिमा उल्लेख छ ।

केही समययता एससिटीले १०० भन्दा बढी सहकारीलाई कार्ड सेवा दिइसके तापनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्रान्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेस प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोसमा जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बताइएको छ । कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्नेछन् ।

अब सम्पूर्ण सहकारीले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्ने बताइएको छ । सहकारीहरुले आफनो सदस्यलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन भने पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय