काठमाडौं– जरुरी हुनेले ट्रायल दिएको तीन दिनमै सवारी चालक अनुमति पत्र पाउने भएका छन् । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमतिपत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारीचालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्नेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई ६ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुने गरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इन्जिनियर उमेश रुपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिक रुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन् । ‘सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ,’ उनले भने ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्याङ, हेटौंडा, जगातीलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल बताउँछन् ।

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउँछन् । ‘उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौं,’ उनले भने ।

सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताको समेत व्यवस्था गरेको बताउँछन् ।

ठूलोभर्याङले दैनिक तीन सयजनालाई सवारी चालक अनुमतिपत्र प्रदान गर्दै आएको छ । दैनिक ७ सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, १ सय ५० नवीकरण, २ सयको राजस्व संकलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ ।

यस्तै हप्ताको पाँच सयजनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।
ठूलोभर्याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय