भद्रपुर– झापाको भद्रपुर बजारका व्यापारिक प्रतिष्ठानमा चोरीका घटना बढेको भद्रपुर उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार केही दिनयता दिनदहाडै चोरीका घटना बढेका हुन् ।
विभिन्न कारणले व्यवसाय खस्किँदै गएबाट आक्रान्त व्यवसायीलाई एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति बेहोर्न बाध्य पारेको संघको भनाइ छ । चोरीका घटनाले व्यक्तिगत र व्यावसायिक असुरक्षा बढेको संघको भनाइ छ ।
नगरको सुरक्षा व्यवस्था कमजोर हुँदा दिनदहाडै चोरीका घटना बढेको संघले बताएको छ । चोरीका घटना बढ्दै गएपछि संघले नगरप्रमुखको ध्यानाकर्षण गराउँदै उपयुक्त सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ ।
‘कसरी हुन्छ भद्रपुर क्षेत्रको सुरषा व्यवस्था मजबुत तुल्याएर यहाँका उद्योगी–व्यवसायीलाई भयरहित ढंगले उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन हुन अनुरोधका साथ यो ज्ञापनपत्र बुझाएका छौं,’ संघले भद्रपुर नगरपालिकाका प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि दिइएको छ ।









