काठमाडौं– पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको दाबी गरेको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।
यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरसमेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँडिएको माई पेको भनाइ छ ।
उदाहरणको लागि कसैले माई पेबाट हजार रुपैयाँको मोबाइल टपअप गर्यो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा २० रुपैयाँ क्यासको रुपमा उसको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माई पेबाट गरिएको सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने माई पेको भनाइ छ ।
यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । पहिलो कारोबारबाट २० क्वाइन जम्मा भएको भने अर्काे कारोबारको रुपमा एक हजारको कुनै इन्टरनेटको बिल भुक्तानी गर्दा ग्राहकको माई पे वालेटमा तीनवटा विकल्प देखाउँछ ।
पहिलो विकल्प छनोट गर्दा उसको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा ग्राहकले वालेटमा बैंक लिंक गरेको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
जस्तो हजार रुपैयाँको बिल तिर्दा ग्राहकले ९८० उसको बालेटमा भएको रुपैयाँबाट र २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्छ । यस भुक्तानीपछि पनि उसले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्छ ।
उक्त क्वाइन निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा तेस्रो विकल्प नदेखिने माइपेले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।
‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पेका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगदसरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सञ्चालनमा ल्याएका छौं ।’









