पोखरा– मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।
उक्त खण्डका १३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड) का प्रमुख अमित श्रेष्ठले जानकारी दिए । १३८ संरचना हटाउन २ करोड ४५ लाख ३९ हजार ६३३ रुपैयाँ मुआब्जा वितरण गरिने उनले बताए ।
व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५–२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्लागण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
आयोजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नं र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको थियो । घरटहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्ता स्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सोको पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ ।
आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुनर्बास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकीका नगर प्रतिनिधि, म्याग्देका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहनुभएको छ ।
मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सनले पाएको छ । पूर्वी खण्डमा आर्थिक वर्ष २०७८–७९ को अवधिमा ५७ करोड ४ लाख ४२ हजार ९६ खर्च भइसकेको छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछन् । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दुरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वी राजमार्गको भएको स्थानमा मर्स्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको छ ।









