काठमाडौं– देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । प्रदेश नं १ का पहाडी भू–भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
रातको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली तथा देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।









