महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको जिल्लाका मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।
प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षअघि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको थियो । त्यसपछि उनी फरार भएका थिए ।
शनिबार पक्राउ परेका साहको ससुराली घरबाट ७१ लाख ४४ हजार ३५० रुपैयाँको नौ थान कपाली तमसुक बरामद भएको हो ।
उनले महोत्तरी र धनुषासहित झापासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गरेको फेला परेको प्रहरीको भनाइ छ । उनले ५० हजार दिएर नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौं व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।
साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले ४२ लाख ९२ हजार १९० बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले १ लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सोे मुद्दा अझै पनि अदालतमा विचाराधीन छ । मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भंगाहा नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
साहविरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम चलिरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए ।









