काठमाडौं– पछिल्लो समय आयातको पहिलो नम्बरमा रहँदै आएको डिजेल खपत गत साउनमा ठूलो मात्रामा घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातसम्बन्धी ताजा तथ्यांक अनुसार पोहोर साउनको तुलनमा यसपालि साउनमा डिजेल खपत झन्डै ३१ प्रतिशतले घटेको छ । खपत घट्दा डिजेल आयातको परिमाण पनि घटेको छ ।

गत वर्ष साउनमा ९४ हजार १०४ किलोलिटर डिजेल भारतबाट आयात भएको यसपालि साउनमा ६५ हजार १८६ किलोलिटरमात्र आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
डिजेलसँगै पेट्रोल आयात पनि घटेको छ । पोहोर साउनमा ५८ हजार ५५६ किलोलिटर पेट्रोल भारतबाट आयात भएकोमा यसपालि ५४ हजार ७०४ किलोलिटरमात्रै आयात भएको छ ।

आयातको परिमाण घटे पनि आयातका लागि बाहिरिएको रकम भने बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले कम परिमाणमा आयात हुँदा पनि अघिल्लो वर्षभन्दा बढी रकम बाहिरिएको हो ।

पोहोर साउनमा डिजेल आयातका लागि ६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएकोमा यसपालि उक्त रकम बढेर ८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी पेट्रोल आयातमा पोहोर ४ अर्ब ४१ करोडभन्दा बढी बाहिरिएकोमा यसपालि ६ अर्ब ३८ करोड बाहिरिएको छ ।

चर्को मूल्यवृद्धि लगायत अन्य कारणले यी दुवै वस्तुको मागमा कमी आउँदा आयात घटेको हो । पोहोर साउनको तुलनामा यसपालि साउन हुँदा पेट्रोलियम पदार्थको मूल्य झन्डै दोब्बर भएको छ । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग तथा पेट्रोल र डिजेलले चल्ने सवारीसाधनको आयातमा लागेको प्रतिबन्धले पनि आयात घटाएको हुन सक्ने बताइन्छ ।

खाना पकाउने ग्यासको खपत भने पोहोर साउनको तुलनामा बढेको छ । पोहोर साउनमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको ३ करोड ७९ लाख ८२ हजार किलो खाना पकाउने ग्यास आयात भएकोमा यसपालि ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी मूल्यको ४ करोड १४ लाख ८७ हजार किलो आयात भएको छ ।

गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । पोहोर साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात भएको थियो । अघिल्लो वर्ष साउनको तुलनामा यसपालि साउनको आयात १३ प्रतिशत कम हो ।

आयातमा कमी आउँदा व्यापार घाटामा पनि १० प्रतिशतले कमी आएको छ । पोहोर साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रहेको व्यापार घाटा यसपालि साउनमा १ खर्ब १६ अर्ब ४७ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय