काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो ।
गाभिएपछि संस्थाको कारोबार झन्डै ९ अर्ब पुग्ने भएको छ भने बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ हुनेछ । ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १ सय ९६ पुग्ने पनि जनाइएको छ । गाभिएपछिको सहकारीको नाम नेसनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।
पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य संंख्या ३५ हजार २० पुग्ने र ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने भएका छन् ।
पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९ सय ८२ हुनेछ । कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८ सय ९८ पुग्ने जनाइएको छ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८ सय १७ रहनेछ ।









