काठमाडौं– नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले विद्युत् महसुल नतिर्ने ६ हजार ४७७ ग्राहकको विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महसुल नतिर्ने ती ग्राहकको लाइन आर्थिक वर्ष २०७८–७९ मा काटिदिएको हो ।
कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट १७ करोड ५१ लाख २८ हजार जरिवानासहित महसुल उठेको छ । तीमध्ये सोही अवधिमा ५ हजार ७७६ ग्राहकको लाइन जोडिएको बताइएको छ । लाइन काटिएकाबाट उठ्नुपर्ने रकम १९ करोड, ९५ लाख ७७ हजार २०८ रुपैयाँ थियो ।
उक्त कारवाही बागमती प्रदेश कार्यालयअन्तर्गतको हेटौंडा वितरण केन्द्र, टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारबाही गरेएको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ ।
ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष २०७८–७९ मा १९४ ग्राहकलाई कारवाही गरी २१ लाख ४२ हजार ४५४ जरिवाना संकलन गरेको भएको थियो ।
त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को तुलनामा गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको हो । विद्युत् चुहावट अघिल्लो वर्षमा ७.७२ प्रतिशत थियो भने गत आर्थिक वर्षमा घटेर ७.३७ प्रतिशतमा झरेको हो ।
ती कार्यालयमा विगतको तुलनामा विद्युत् ग्राहक संख्या बढेर यस वर्ष ३ लाख ३ हजार ८४५ भएको बताइएको छ । सो अवधिमा ७३ करोड २९ लाख २१ हजार युनिट विद्युत् महसुल बिक्री भएको र त्यसबापत ५ अर्ब ७६ करोड ६० लाख १७ हजार विद्युत् महसुल संकलन भएको सो प्रदेश कार्यालयका लेखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
सो कार्यालय अन्तर्गतको विद्युत् चुहावट घट्दै गएको प्रदेश डिभिजन कार्यालयको भनाइ छ ।









