काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ ।

सेबोन सञ्चालक समितिले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरेर अर्थ मन्त्रालय पठाएको छ । अर्थले संशोधित नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने बाटो खुल्नेछ ।

सेबोन सञ्चालक समिति बैठकले बिहीबार नियमावली संशोधन गरेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिएका छन् ।

नियमावलीमा नयाँ स्टक एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । साबिकको नियमावलीमा १० करोड रुपैयाँ पुँजी राखेर स्टक एक्सचेन्ज कम्पनी खोल्न पाइने व्यवस्था थियो । नयाँ स्टक एक्सचेन्जमा निजी कम्पनी तथा व्यक्तिहरुले समेत लगानी गर्न पाउनेछन् । त्यस्तो कम्पनी र वा व्यक्तिको हकमा अधिकतम लगानीको सीमा १५ प्रतिशतसम्म हुन सक्ने व्यवस्था छ । हालसम्म नयाँ स्टक एक्सचेन्जमा एउटा कम्पनीको लगानी १० प्रतिशतसम्म मात्रै हुनुपर्ने व्यवस्था थियो ।

बीमा समिति र नेपाल राष्ट्र बैंकको नियमअनुसार नै धितोपत्र बोर्डले लगानीको थ्रोसहोल्ड १५ प्रतिशत बनाएको हो । हमालका अनुसार मन्त्रिपरिषद् बैठकले नियमावली पास गरेपछि बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खोल्नेछ ।

नयाँ स्टक एक्सचेन्ज लामो समयदेखि चर्चाको विषय रहिआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय