काठमाडौं– नेपालमा २०७८ असार मसान्तसम्ममा ५५ देशबाट प्रत्यक्ष वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ । सोमध्ये भारतबाट सबैभन्दा बढी ७५ अर्ब ८१ करोड आएको छ । दोस्रो नम्बरमा रहेको चीनबाट चीनबाट ३३ अर्ब र तेस्रो नम्बरको आयरल्यान्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । त्यसैगरी, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकको सर्वेक्षणले प्रस्ट पारेको छ ।
नेपालमा उक्त अवधिसम्म रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको सर्वेक्षण प्रतिवेदनले औंल्याएको छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा छ ।
आर्थिक वर्ष २०७७–७८ मा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ । नाफाको दर करिब १४.७ प्रतिशत रहेको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उपलब्ध छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रत्येक वर्ष गर्दै आएको छ ।
आर्थिक वर्ष २०७७–७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७–७८’ तयार पारिएको राष्ट्र बैंकको भनाइ छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २२७ अर्ब ९५ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।









