काठमाडौं– गत साउनमा महँगी पोहोरको तुलनामा झन्डै दोब्बर पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी वृद्धिदर) ८.२६ प्रतिशत पुगेको छ । यो सरकारले चालू आर्थिक वर्षमा कायम राख्ने भनेको ७ प्रतिशतभन्दा १.२६ प्रतिशत बिन्दुले बढी हो ।
पोहोर साउनमा महँगी ४.३५ प्रतिशतले बढेको थियो । यो साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी वृद्धिदर ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ९.१८ प्रतिशत रहेको छ ।
२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेस्टुरेन्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।
साउनमा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।









