बेनी– चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका–९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

बेनी नगरपालिका–२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुंगा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताउनुभयो । उहाँका अनुसार रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय