काठमाडौं– आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजत पाएको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको छ ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पुँजी परिचालनमार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ । आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, ‘हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं ।’

आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवं भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्नु हो । कम्पनीले लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य–आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना बनाएको जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवर्द्धित आध्यन्त नेपालमा पुँजी परिचालनमार्फत आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय