धुलिखेल– स्याटलाइटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत् छलफल आयोजना गरिएको छ । एसिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा ‘वर्तमान प्रविधिको प्रयोग र यसको उपादेयता’ विषयक तीनदिने दक्षिण एसियाली कार्यशालामा इन्टरनेट सेवामा नयाँ प्रविधिको विकासबारे छलफल हुनेछ ।

कार्यशालामा नेपालको ग्रामीण भेगमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न तथा दक्षिण एसियामा टेलिकम्युनिकेसनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा बृहत् छलफल हुनेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटानका टेलिकम्युनिकेसन उत्पादक, सेवाप्रदायक र नियामक निकाय तथा स्याटेलाइट स्पेसमा कार्यरत हङकङ र मलेसियाका सेवाप्रदायक संस्थाका प्रतिनिधिसमेतको सहभागिता छ ।

कार्यशाला उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोभिड–१९ को महामारी र त्यसपछिको समयमा प्रविधिको महत्त्व अझ बढेको बताए । उनले नेपालका गाउँगाउँमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न गरिने छलफलले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै दक्षिण एसियाली टेलिकम्युनिकेसनका महासचिव मेनोसोरी कोन्डोले नेपालस्थित नेपाल दूरसञ्चार प्राधिकरणले दक्षिण एशियामा टेलिकम्यूनिकेशनको क्षेत्रमा गर्न सकिने नयाँ प्रविधिको विषयमा बृहत् छलफल गरेकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले टेलिकम्युनिकेसनको प्रविधि ठूलो क्षेत्रमा प्रयोग भइरहेने हुँदा जुन प्रविधिको प्रयोग हुन्छ फ्रिक्वेन्सी प्रयोग, सामग्रीको उपलब्धतामा सहजताका कारण सोही प्रविधि अन्य राष्ट्रले पनि प्रयोग गर्नुपर्ने बताए । नेपालको पहाडी भू–भागमा कस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने उनले जानकारी दिए ।

आचार्यका अनुसार एसियाली क्षेत्रअन्तर्गत नेपालको भौगोलिक र सांस्कृतिक सामिप्यताका कारण ‘फाइभ–जी’, स्याटेलाइट प्रविधि, वाइफाई एक्सेसका क्षेत्रका लागि उपयुक्त के हुनसक्छ र प्रत्येक नागरिकको हातमा इन्टरनेट पुर्याउन के प्रयोग गर्दा ठिक हुन्छ भन्ने विषयमा विविध छलफलको योजना बनाइएको छ ।

कार्यशालाको मूल उद्देश्य नै टावरले नधानेको नेपालका विभिन्न स्थानमा इन्टरनेट पुर्याउने उपायको खोजी नै रहेको जनाइएको छ । ‘स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्न पहिला महँगो थियो, अहिले सस्तो आएको यसबारे उपायको खोजी गरिनेछ र वाइफाई, अप्टिकल फाइबर, आर्टिफिसियल इन्टेलिजेन्समा पनि छलफल केन्द्रित रहनेछ,’ आचार्यले भने ।

नेपालको ‘फाइभ–जी’ इन्टरनेट सेवा मोबाइलमा मात्र होइन, अब सूचना–प्रविधिका सामग्रीमा पनि इन्टरनेटबाट नियन्त्रण गर्न सकिने भएकाले प्रविधिमा नयाँपनको आवश्यकता महसुस गरिएको हो । बिहीवारसम्म सञ्चालन हुने कार्यशालामा भौतिक रुपमा ८० र भर्चुअल माध्यमबाट एक सय जना सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय