काठमाडौं– बैंक वित्तीय संस्थाले असोज १ देखि लागू हुने गरी ब्याजदर बढाएकोमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । महासंघले यो निर्णयबाट कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने तर्क गरेको छ ।

बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको तथा उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जिविका कष्टकर हुँदै गएको महासंघले जनाएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्था ब्याज बढाउने निर्णयले थप माथि लग्ने महासंघको भनाइ छ । अर्थतन्त्र सुंकचित हँुदै जाँदा सरकारको राजस्व संकलन समेत करीब २० प्रतिशतले न्यून हुन गएको विज्ञप्तिमा उल्लेख छ ।

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्नेमा महासंघले जोड दिएको छ । कोभिडका कारण गरिएको पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गरेको महासंघले पछिल्लो निर्णयले ब्याज दरमा अस्थिरता हँुदा सँचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने बताएको छ ।

विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण दिँदै महासंघले बढाएको ब्याजदर स्थगन गर्न माग गरेको छ । यसै पनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने चेतावनी महासंघले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय