धुन्चे– रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड संक्रमणपछि एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा अचेल २१ ओटासम्म कन्टेनर आउन थालेको बताइएको छ ।

सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौंको संख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ संक्रमण सुरु भएपछि मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी ल्याएर छाड्ने गरेका छन् ।

चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्टसमेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ । चीनमा कोभिड संक्रमणपश्चात बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरू भई ६, ९, १४ हुँदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान ल्याउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।

गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा १ सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान ल्याएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

हालसम्म आयात भएका सामग्रीमा १ सय १९ कन्टेनर तयारी पोशाक, ३५ कन्टेनर नेपालमा सञ्चालित जलविद्युत आयोजनाका उपकरण र चार कन्टेनर ओखर रहेको बताइएको छ । स्याउ भने शनिबारसम्म आएको छैन । कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए ।

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौं पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय